लालझाडी ३ कंचनपुर ,सेयर लगानी र सम्पत्ति विवरणलाई लिएर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले आफ्नो बचाउसहित स्पष्टीकरण दिएका छन्। उनको सचिवालयले सञ्चालन गर्ने ह्वाट्सएप ग्रुपमार्फत उनले आफूमाथि लागेका आरोप निराधार रहेको र तथ्यलाई बङ्ग्याएर प्रस्तुत गरिएको दाबी गरेका छन्।
उनले सेयर लुकाएको, मन्त्री हुनुअघि शंकास्पद रूपमा सेयर किनेको र स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) सिर्जना गरेको भन्ने आरोपहरूको बुँदागत रूपमा खण्डन गरेका हुन्।
२५ लाख रुपैयाँबराबरको सेयर लुकाएको भन्ने आरोपबारे स्पष्ट पार्दै उनले भनेका छन्, “मैले मन्त्रिपरिषद्को वेबसाइटमा सार्वजनिक गरेको सम्पत्ति विवरणमै दुई करोडभन्दा बढीको लगानी स्पष्ट उल्लेख गरेको छु। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी सोही समूहभित्रै पर्छ। यो लुकाउने नियत नभई वर्गीकरणको विषय मात्र हो।” उनले आरोप तर्कसंगत नरहेको पनि तर्क गरेका छन्। उनले भनेका छन्‚ “खुला रूपमा दुई करोड सम्पत्ति देखाउने मान्छेले २५ लाख लुकाउन खोज्छ भन्नु तर्कसंगत छैन।”
उनले मन्त्री हुनुअघि सेयर खरिद गरिएको विषयलाई स्वभाविक व्यापारिक प्रक्रियाका रूपमा व्याख्या गरेका छन्। उनले उक्त लगानीका लागि २९ भदौ २०८० मा गरिएको लिखित तमसुक र ऋण (कर्जा) मार्फत रकम जुटाइएको जानकारी दिए। “सम्पूर्ण कारोबार बैंकिङ च्यानलमार्फत भएको छ। बैंकको रेकर्डमा कुन पैसा कहाँबाट आयो र कहाँ गयो भन्ने स्पष्ट छ, यस्तो अवस्थामा पैसा लुकाउन असम्भव हुन्छ,” उनले स्पष्ट पारेका छन्।
विवादित व्यक्तिहरूसँग साझेदारी गरेको भन्ने प्रश्नमा गृहमन्त्री गुरुङले कुनै पनि कम्पनीमा सेयरधनी हुनु भनेको त्यहाँका हजारौँ अन्य सेयरधनीसँग व्यक्तिगत साझेदारी गर्नु नभएको तर्क गरे। उनले सोही कम्पनीमा ठुला मिडिया हाउस र बैंकहरूको पनि लगानी रहेको स्मरण गराएका छन्। साथै गृह मन्त्रालयले छानबिन प्रभावित पारेको आरोपलाई अस्वीकार गर्दै उनले भनेका छन्, “यस विषयको छानबिन अर्थ मन्त्रालय मातहतको सम्पत्ति शुद्धीकरण विभागले गरिरहेको छ। यदि मेरो हस्तक्षेप हुन्थ्यो भने छानबिन प्रक्रिया नै अगाडि बढ्ने थिएन। प्रक्रिया चलिरहेको छ, मेरो प्रभाव होइन।”
उनले आफ्नो लगानीलाई बिचौलियासँगको मिलेमतो भन्नु गलत भएको जिकिर गर्दै व्यापारिक जोखिम र पछि उत्पन्न भएका घटनाक्रमलाई लिएर पहिलेकै निर्णयमा प्रश्न उठाउनु न्यायोचित नभएको बताएका छन्। गृहमन्त्री गुरुङले पार्टीले गर्ने जुनसुकै निर्णय मान्न तयार रहेको र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। “आरोप र सत्य फरक कुरा हुन्, निर्णय भावनाको आधारमा नभई प्रमाणको आधारमा हुनुपर्छ‚” उनले भनेका छन्‚ “पार्टीको नारा र व्यवहार फरक भयो भन्ने टिप्पणी पनि गरिएको छ। व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोको रूपमा व्याख्या गर्नु उचित होइन। लगानी गर्नु र बिचौलियापन गर्नु फरक कुरा हुन्, यसलाई मिसाएर राजनीति गर्न सजिलो छ, तर सत्य त्यति सरल हुँदैन।”
हेर्नुहोस् यस्तो छ सुधन गुरुङको स्पष्टीकरण
मेरो नाम जोडिएको विषयबारे स्पष्टीकरण
पछिल्ला दिनमा मेरो नाम जोडेर विभिन्न चर्चा भइरहेका छन्। विषय अलि जटिल ढंगले प्रस्तुत भएकाले म यसलाई सरल भाषामा स्पष्ट पार्न चाहन्छु। स्पष्ट कुरा, हल्ला धेरै छन्, तर तथ्य के हो भन्ने बुझ्न जरुरी छ।
“२५ लाखको सेयर लुकाइएको” भनिएको छ। वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन्। मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने होइन, वर्गीकरणको विषय हो।
सीधा कुरा, लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन।
“मन्त्री हुनुअघि सेयर किनियो“ भनिएको छ। यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो? सम्पूर्ण कारोबार बैँकिङ च्यानलमार्फत भएको छ।
बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ। कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने ?
अब स्रोतको कुरा, मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०/०५/२९ को हो,जुन रेकर्डमा नै छ।
उक्त तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो।
अर्थात्, पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो।
“विवादित व्यक्तिसँग साझेदारी” भनिएको छ। एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरहोल्डर हुन्छन्। सेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु होइन। यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रूपमा दोषी ठहर गर्नुपर्ने हुन्छ, जुन न्यायोचित होइन। त्यही कम्पनीमा मिडिया हाउसदेखि बैंकसम्मका लगानी छन्। के ती सबै साझेदार वा दोषी हुन् त?
प्रश्न सरल छ, सेयरहोल्डर हुनु अपराध हो, कि चयन गरेर आरोप लगाउनु?
“Conflict of interest” को आरोप पनि उठाइएको छ। तर यस विषयमा छानबिन गर्ने निकाय गृह मन्त्रालय होइन, अर्थ मन्त्रालय अन्तर्गत रहेको सम्पत्ति शुद्धिकरण विभाग हो, र सोही निकायले प्रक्रिया अनुसार विषय हेरिरहेको छ।
यदि मैले कुनै हस्तक्षेप गरेको भए यस्तो छानबिन प्रक्रिया नै अघि बढ्ने थिएन।
यसको अर्थ स्पष्ट छ, प्रक्रिया चलिरहेको छ, प्रभाव होइन।
“पृष्ठभूमि नजाँची लगानी” भन्ने कुरा पनि उठाइएको छ। व्यापारिक लगानीमा भविष्यका सबै अवस्था पहिल्यै थाहा हुँदैन। हरेक लगानीमा जोखिम हुन्छ।
पछि भएको घटनालाई अघि गरेको निर्णयको दोष बनाउनु, यो तथ्य होइन, सुविधा अनुसारको व्याख्या हो।
“प्रतिक्रिया नदिनु” लाई पनि प्रश्न बनाइएको छ। कानुनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया दिनु उपयुक्त हुँदैन।
हल्ला छिटो फैलिन्छ, तर सत्य प्रमाणसहित मात्र आउँछ।
“पार्टीको नारा र व्यवहार फरक भयो” भन्ने टिप्पणी पनि गरिएको छ। व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोको रूपमा व्याख्या गर्नु उचित होइन। लगानी गर्नु र बिचौलियापन गर्नु फरक कुरा हुन्, यसलाई मिसाएर राजनीति गर्न सजिलो छ, तर सत्य त्यति सरल हुँदैन।
अन्त्यमा, म यति मात्र भन्न चाहन्छु, आरोप र सत्य एउटै कुरा होइनन्।
निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ।
तथापि, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु।
सहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्म हामीलाई जिम्मेवार बनाउँछ, हल्लामा होइन, प्रमाणमा उभिन।
धन्यवाद।https://sainonetwork.com/?p=7507&preview=true