लालझाडी ३ कंचनपुर भदौ १६ ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि रु. ४ लाख आर्थिक सहयोग गरेको छ।
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पु¥याउने उद्देश्यले संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उक्त रकम प्रदान गरेको हो।
संस्थाले प्रदान गरेको सहयोग रकमको चेक संस्थाका अध्यक्ष डा. मानबहादुर बीके, सञ्चालकद्वय यज्ञविक्रम शाही र गुरुराज बराललगायतको उपस्थितिमा नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव श्री कृष्णबहादुर राउतलाई हस्तान्तरण गरिएको जनाइएको छ। सोही अवसरमा संस्थाका प्रतिनिधिहरूले मन्त्री सीता बादीलाई समेत भेट गरी राहत रकम हस्तान्तरण तथा संस्थाको राहत संकलनसम्बन्धी योजनाबारे जानकारी गराएका थिए।
विपद्को कठिन घडीमा बाढीपीडित नागरिकलाई राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग गर्ने उद्देश्यले संस्थाले आफ्नो तर्फबाट आर्थिक सहयोग गरेको जनाएको छ। साथै, बाढी प्रभावितहरूप्रति थप सहयोग पु¥याउने उद्देश्यले संस्थाले आफ्ना कर्मचारीहरूलाई एक दिन बराबरको तलब तथा भत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ।
संस्थाले आफ्ना आबद्ध सदस्य तथा उनीहरूका परिवार बाढीबाट प्रभावित भए/नभएको पहिचान गर्न आवश्यक तथ्यांक संकलन गर्ने, प्रभावित व्यक्तिको खोज तथा उद्धारमा सहजीकरण गर्ने र स्वेच्छिक रूपमा राहत रकम वा जिन्सी सहयोग गर्न चाहने सदस्यबाट सम्बन्धित शाखामार्फत सहयोग संकलन गरी प्रभावित क्षेत्रमा पु¥याउने व्यवस्था मिलाएको जनाएको छ।
यसैबीच, बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति संस्थाले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।
जनउत्थान सामुदायिक लघुवित्तले आफ्नो रणनीतिक योजनाअन्तर्गत विपद् व्यवस्थापन तथा सामाजिक उत्तरदायित्वसम्बन्धी जनचेतनामूलक कार्यक्रम समुदायस्तरमा सञ्चालन गर्दै आएको जनाएको छ। विगतमा समेत विभिन्न विपद्का समयमा आर्थिक तथा जिन्सी राहत सहयोग प्रदान गर्दै आएको संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
संस्थाका कायममुकायम प्रमुख कार्यकारी अधिकृत इन्द्र बरालीले विपद्का बेला संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउँदै आएको बताए।
स्वाधीन अर्थतन्त्रका लागि समावेशी वित्तीय प्रणाली निर्माण गर्ने उद्देश्यसहित स्थापना भएको जनउत्थानले वित्तीय सेवाको पहुँचबाट वञ्चित रहेका विपन्न, समाजमा पछाडि परेका तथा परिएका समुदायमा सामुदायिक वित्तीय सेवा पु¥याउँदै आएको जनाएको छ।
संस्थाले लघुवित्तमार्फत ग्रामीण तथा विपन्न समुदायको आर्थिक अवस्था सुधार गर्न सीप तथा पेशालाई लक्षित गरी लगानी प्रवद्र्धन गर्दै आएको छ। साथै, वातावरणमैत्री तथा दिगो वित्तीय अभ्यासका रूपमा ‘ग्रीन लेन्डिङ’ लाई समेत प्राथमिकता दिएको संस्थाको भनाइ छ।
हाल संस्थाले १९ जिल्लामा ३९ वटा शाखा कार्यालयमार्फत करिब ३७ हजार सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। संस्थाको केन्द्रीय कार्यालय बुटवल उपमहानगरपालिका–१० मा रहेको छ।