
लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
कैलाली र कञ्चनपुरबाहेक प्रदेशका सातवटै पहाडी जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शनिबार बिहान ७ बजेदेखि आइतबार बिहान ७ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेका हुन्।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार निरन्तरको वर्षाका कारण सडक तथा यातायातमा जोखिम बढ्न सक्ने भएकाले प्रशासनको निर्णयअनुसार सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।
रोक अवधिमा पहाडी जिल्लामा छोटो तथा लामो दूरीका सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन। प्रशासनले वर्षाका कारण बाढी र पहिरोको जोखिम रहेकाले यात्रु तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
ट्राफिक प्रहरीले निर्णयबारे जानकारी नपाएर पहाडतर्फ जाँदै गरेका केही सवारीसाधनलाई कैलालीको खानीडाँडामा रोकेर फर्काइएको जनाएको छ।
सुदूरपश्चिमका नौवटै जिल्लामा शुक्रबारदेखि निरन्तर वर्षा भइरहेको छ। पहाडी क्षेत्रमा वर्षाका कारण सडक अवरुद्ध हुने तथा बाढी–पहिरोको जोखिम बढ्न सक्ने भएकाले प्रशासनले थप सतर्कता अपनाउन आग्रह गरेको छ।
तराईका कैलाली र कञ्चनपुरमा भने तत्काल जोखिम कम देखिएकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको छैन।