लालझाडी, ।
भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा आबद्ध बैंकिङ समुदाय सदस्यका परिवारका ५ जना सदस्य बेपत्ता भएका छन्।
संस्थाका अनुसार विभिन्न शाखा सञ्चालन कार्यालयमा आबद्ध सदस्यका परिवारका सदस्यहरू बाढीपछि सम्पर्कविहीन भएका हुन्। बेपत्ता हुनेमा अर्घाखाँची पाणिनी गाउँपालिका–३ का प्रशान्त रेस्मी (३१), दाङ तुलसीपुर उपमहानगरपालिका–१९ का सुरेश चौधरी (३८), चितवन इच्छाकामना गाउँपालिका–१ का सुमन पुरी (३५), चितवन भरतपुर महानगरपालिका–१२ का कृष्णराज अर्याल (७०) र कञ्चनपुर कृष्णपुर नगरपालिका–५ का रमेशराज जोशी (३३) रहेका छन्।
बाढीपछि उनीहरूको खोजी कार्य जारी रहे पनि हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा सहयोग गरिदिन सर्वसाधारण, सुरक्षा निकाय तथा सम्बन्धित सबै निकायसँग अपिल गरेको छ।
बेपत्ता व्यक्तिहरूबारे कुनै जानकारी प्राप्त भएमा नजिकैको प्रहरी कार्यालय, परिवारका सदस्य वा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय, बुटवल–१०, कालिकानगरमा जानकारी गराउन संस्थाले आग्रह गरेको छ।