
जय सिंह महता
बैतडी ,कार्तिक -१३ बैतडी जिल्लाको तल्लो स्वराड प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा, धार्मिक आस्था र मौलिक सांस्कृतिक पहिचानले भरिपूर्ण सम्भावनायुक्त क्षेत्र हो। प्रकृतिले उदारतापूर्वक दिएको सौन्दर्य र इतिहासले छोडेका सम्पदाहरू यहाँ प्रशस्तै छन्। तर विडम्बना, यति धेरै सम्भावना बोकेको तल्लो स्वराड आज पनि सडक, सञ्चार र पर्यटन पूर्वाधारको अभावमा ओझेलमा परेको छ।
शर्मालीस्थित ऐतिहासिक अमरगढी गढी किल्ला, मनमोहक तोली झरना, खोला केदार मन्दिर, देहिगडा भगवती, मेलौली भगवती, शिवनाथ, गंगेश्वर मन्दिर र नागार्जुन मन्दिर यस क्षेत्रका धार्मिक तथा ऐतिहासिक पहिचान हुन्। त्यसैगरी, सोर्नया नदी र महाकाली नदीको संगमस्थल, विशाल वन क्षेत्र तथा महाकाली तटीय प्राकृतिक सौन्दर्यले तल्लो स्वराडलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने आधार प्रदान गरेका छन्।
तर प्रश्न उठ्छ, यति धेरै सम्भावना हुँदाहुँदै पनि तल्लो स्वराड किन पर्यटकीय नक्सामा स्थापित हुन सकेन? किन यहाँका ऐतिहासिक सम्पदाले राष्ट्रिय पहिचान पाउन सकेनन्? किन पर्यटकलाई आकर्षित गर्न सक्ने प्राकृतिक स्थलसम्म पुग्ने भरपर्दो सडक र सञ्चार सुविधा उपलब्ध हुन सकेन?
यसको प्रमुख कारण राज्यको कमजोर प्राथमिकता, योजनाबद्ध विकासको अभाव र पर्यटकीय सम्भावनाको उचित पहिचान तथा प्रचारप्रसार हुन नसक्नु हो। सडक र सञ्चारजस्ता आधारभूत पूर्वाधारबिना पर्यटन विकासको कल्पना गर्नु आफैँमा अपूर्ण छ।
तल्लो स्वराडलाई धार्मिक, ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक पर्यटनको एकीकृत गन्तव्य बनाउन सकिन्छ। त्यसका लागि सडक सञ्जाल विस्तार, सञ्चार सुविधा, पर्यटकीय स्थलको संरक्षण, पदमार्ग निर्माण, होमस्टे सञ्चालन र प्रचारप्रसारलाई प्राथमिकतामा राख्नुपर्छ। स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्मले साझा योजना बनाएर लगानी गर्ने हो भने पर्यटनले यस क्षेत्रको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
पर्यटन भनेको घुमफिरको माध्यम मात्र होइन, स्थानीय रोजगारी, आयआर्जन, व्यापार व्यवसाय र समग्र क्षेत्रीय समृद्धिको आधार पनि हो। त्यसैले यहाँका सम्पदालाई संरक्षण गर्दै आर्थिक अवसरसँग जोड्नु आजको आवश्यकता हो।
तल्लो स्वराडसँग सम्भावनाको कमी छैन, कमी छ त ती सम्भावनालाई विकासमा रूपान्तरण गर्ने दूरदृष्टि र प्राथमिकताको।
अब राज्यले तल्लो स्वराडलाई भौगोलिक विकटताको दृष्टिले मात्र होइन, पर्यटन र आर्थिक समृद्धिको सम्भावनायुक्त क्षेत्रका रूपमा हेर्नुपर्छ। अन्यथा प्राकृतिक सौन्दर्य, ऐतिहासिक गौरव र धार्मिक आस्थाले भरिपूर्ण यो क्षेत्र सम्भावना हुँदाहुँदै पनि ओझेलमै रहनेछ।
तल्लो स्वराडले अब आश्वासन होइन, सडक, सञ्चार, संरक्षण र पर्यटन विकासको ठोस कार्ययोजना खोजिरहेको छ।