संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बिहीवार बसेको संसदीय दल बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने निर्णय सर्वसम्मत रूपमा पारित गरेसँगै उनलाई प्रधानमन्त्री नियुक्त गर्ने बाटो खुलेको छ ।

शाहले प्रधानमन्त्रीको शपथ लिने शुभसाइत शुक्रवार दिनको १२:३४ बजे तय गरिएको छ । शुभसाइतअनुसार शाहको शपथ र पदभार ग्रहणका लागि राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालय तयारीमा जुटिसकेको छ । शपथग्रहण समारोहमा सातओटा शंखबाट शंखनाद, १०८ जना बटुकबाट स्वस्तिवाचन र १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गराइने बताइएको छ । प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार बालेनले २ बजेर १५ मिनेटमा प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहण गर्ने साइत जुरेको र सोहीअनुसार व्यवस्था मिलाइएको छ ।
संविधानको धारा ७६ को उपधारा १ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त पार्टीको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार शाहको नियुक्ति र उनको अध्यक्षताको मन्त्रिपरिषद् गठन हुनेछ ।
रास्वपाले प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी गरेको छ । त्यसअघि रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह बिहीवार अबेरसम्म मन्त्री छनोटसम्बन्धी छलफलमा जुटेका थिए । बिहीवार नै रवि–बालेनसहितका सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका थिए ।